ठोरीमा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकालाई मधेश प्रदेश सरकारले प्रदेशकै पहिलो पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेसँगै अहिले ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा वृद्धि भएको छ ।
दशैँ तिहार, छठ जस्ता महत्त्वपूर्ण चाडपर्व सम्पन्न भएसँगै फुर्सदिला भएका बारा, पर्सा तथा चितवनका आन्तरिक पर्यटक तथा भारतबाट आउने बाह्य पर्यटकको अहिले ठोरीमा घुइँचो लाग्न थालेको छ । ठोरीको प्रसिद्ध पर्यटकीय स्थल तथा पिकनिक स्पट राइधारामा आन्तरिक तथा भारतीय पर्यटकहरूको आगमन बाक्लिँदै गएको छ ।
राइधारा पिकनिक स्पटमा बाघको स्तम्भ आकर्षणको केन्द्रबिन्दु नै बनेको छ । राईधारामा बाघको स्तम्भ निर्माण भएपछि सेल्फी खिच्ने पर्यटकहरूको भिड लागेको छ । निर्मल–ठोरी उपभोक्ता समितिले आन्तरिक कोषबाट निर्माण गरेको बाघको स्तम्भ आकर्षक भएकाले अहिले पर्यटकहरूको सेल्फी खिच्ने स्थल बन्न पुगेको छ ।
ठोरीलाई प्राकृतिक सम्पदाले अनुपम उपहार दिएको छ । सितागुफा, परेवा भीर, सिनई पर्वत, वनशक्ति मन्दिर, राष्ट्रिय झण्डा लगाएर आकर्षक बनाइएको ठुटे खोलाको पुल, सडकमै आकर्षक रुपमा ठुँगा सजाइएको सेल्फी सडक लगायत रमणीय स्थलले ठोरीमा दिन प्रतिदिन आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भएको छ ।
ठोरी आउने पर्यटकहरूलाई सुरक्षित राख्न तथा आवश्यक सुविधाका लागि न्यून शुल्क लिएर सवारी साधनको पार्किङको व्यवस्था गरिएको र उक्त शुल्कले पिकनिक स्पटलाई अझै व्यवस्थित र सफा राख्नका लागि मद्दत पुगेको निर्मल–ठोरी उपभोक्ता समिति लागि परिरहेको अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्