तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट छठ पूजा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा अर्चना गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको हो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ ।
छठ पूजा समिति कुपण्डोल (ललितपुर) का अध्यक्ष राजीव सिन्हाले व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुने जानकारी दिनुभयो । समग्रमा छठ पर्वले सुख, शान्ति र समृद्धि ल्याउनुका साथै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न समेत टेवा पुग्ने उहाँको भनाइ छ ।
राजधानीको गुहेश्वरी, कमलपोखरी, थापाथली लगायत नदी किनार र तलाउमा व्रतालुले छठको पूजा गरेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराण लगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारत कालमा द्रौपदीसहित पञ्च पाण्डवको एकवर्षे अज्ञात वास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button