तपाईँ सुन्दै हुनुहुन्छः

तिहार लगत्तै मार्सी धान भित्राउने चटारो

जुम्ला । नेपालीहरूको दोस्रो महान् चाड तिहार सकिएसँगै जुम्लामा मार्सी धान भित्राउन थालिएको छ । एकै दिन धान काट्ने(ढाल्ने) स्थानीय चलन अनुसार तिहार लगत्तै जुम्ली किसानलाई मार्सी धान भित्राउने चटारो शुरु भएको छ ।
विगतका वर्षामा अधिकांश क्षेत्रमा तिहार अगावै धान भित्राइन्थ्यो । तर यसपाली अविरल वर्षापछि आएको बाढीपहिरोले धानका फाँट डुबानमा पर्नुका साथै धान भिजेकाले भर्खर भित्राउन लागिएको हो ।
कोदो, सिमी, मकै लगायतका अन्नबाली केही साताअघि भित्राइसकिएको किसानहरू बताउँछन् । जुम्लाका सिंजा, पानसय, असी र चौधबीस भेगका सबै किसान यतिबेला मार्सी धान भित्राउन व्यस्त देखिन्छन् ।
वर्षाका कारण धान भिज्नुका साथै.धेरै फाँट बगर बनेपछि राम्ररी सुक्न दिएर तिहारपछि धान भित्राउन थालिएको किसान दत्त बुढाले बताउनुभयो ।
वर्षाले घरहरू जीर्ण भएका कारण किसानले पहिलो दिन काट्ने, एकदिन सुकाउने र तेस्रो दिन खेतमै चुटेर परालसहित घरमा धान भित्राउने गरेका छन् ।
धान उत्पादन घट्ने अनुमान
यस वर्ष जुम्ली मार्सी धानको उत्पादन घट्ने अनुमान गरिएको छ । असोज तेस्रो साता भएको अविरल वर्षाले जुम्लाका अधिकांश मार्सी फाँट बगर बनेका छन् । भित्राउनै लागेका धान बालुवासँगै छोपिएका छन् ।
जुम्लाकै ठुलो तथा पहिलो मार्सी खेती गरिएको तातोपानीको लाछु ज्युलो यस वर्ष पनि डुबानमा परेको छ । जसका कारण उत्पादनमा गिरावट आउने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो । उहाँ अनुसार प्राकृतिक विपद्का कारण पछिल्लो वर्षमा धान लगायत रैथाने बालीको उत्पादन घट्ने गरेको छ ।
तथ्याङ्क अनुसार आ.व.२०७६/७७ मा ६ हजार २ सय टन, आ.व.०७७/७८ मा ६ हजार टन धान उत्पादन भएको जुम्लामा गत आव ०७८/७९ मा कार्तिकमा भएको बेमौसमी वर्षाले १८ हेक्टर मार्सी फाँटमा क्षति गर्दा ४ हजार ८ सय टन मात्रै धान उत्पादन भयो ।
विगतको भन्दा यसपाली बाढी पहिरोले लेकाली बालीमा पनि ठुलो क्षति गरेको छ । यद्यपि, हालसम्म बाढी पहिरोले कृषि क्षेत्रमा गरेको क्षतिको एकिन विवरण नआएको कृषि कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । धानसँगै सिमी, मकै, कोदो, लगायतका अन्नबालीको पनि उत्पादन घट्ने अनुमान छ ।
पछिल्लो समय जुम्लामा मार्सी धान खेतीको क्षेत्रफल बढेको छ । २९ सय हेक्टरमा धान खेती भइरहेको छ । चन्दननाथ १ र ३ मा लेकाली जातको उन्नत धान रोप्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button