तपाईँ सुन्दै हुनुहुन्छः

मुलुककाे आर्थिक विकासमा नेवार समुदायको अहम् भूमिका छ : मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा नेवार समुदायको आर्थिक विकासमा अहम् भूमिका रहेको बताउनुभएको छ ।
सुनसरीको इनरुवामा झीनु नेवा: समाज इनरुवा सुनसरीले नेपाल संवत् ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले ७७ वटै जिल्लामा नेवार समुदायले आर्थिक विकासमा टेवा पुर्‍याएको बताउनुभएको हो ।
सरकारका प्रवक्ता तथा नेपाली काँग्रेसको केन्द्रिय समेत रहनुभएका मन्त्री कार्कीले नेपाली समाजमा आर्थिक विकासमा टेवा पुर्‍याउने नेवार समुदायको कला, संस्कृति, सभ्यता र छुट्टै पहिचान रहेकोले सरकारले उच्च सम्मान गरेको बताउनुभयो ।
सभ्य, सुन्दर र समृद्ध समाज निर्माणमा नेवार समुदायको अहम् भूमिका रहेको मन्त्री कार्कीले बताउनु हुँदै समृद्ध नेपालको परिकल्पना पूरा गराउन नेवार समुदायको पनि दायित्व भएकोले आगामी निर्वाचनमा विकास र संविधान रक्षाका लागि नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।
नेवार समुदायको संरक्षण, सम्वद्र्धन र संस्कृतिलाई जर्गेना गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएकोले राजनीतिक स्थायित्व तथा मुलुकलाई समृद्ध बनाउनका लागि गठबन्धन आवश्यक भएको समेत उहाँले बताउनुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले ८२ वर्षका ज्येष्ठ नागरिक दिल बहादुर श्रेष्ठ, ८४ वर्षिया नन्द कुमारी श्रेष्ठ, एसइई परीक्षामा छात्रतर्फ ८८.७५ प्रतिशत ल्याई सर्वोत्कृष्ट रोनज श्रेष्ठ र छात्रातर्फ सृष्टि श्रेष्ठले ८७.२ प्रतिशत ल्याएको हुँदा उनीहरुलाई दोसल्ला ओढाई र सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको छ ।
झिगु नेवा: समाज इनरुवा सुनसरीका अध्यक्ष भूपाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनसरी–४ (ख) का प्रदेश सदस्य पदका उम्मेदवार हाजी इसराइल मन्सुरी, जिल्ला अस्पताल सुनसरीका मेसु डा. देवराज घिमिरे, नेपाली काँग्रेसको तर्फबाट समानुपातिकतर्फका उम्मेदवार हरिलाल मेहता र फरिदा खातुन र नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसैन अन्सारीलगायतको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button