तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वद्र्धन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाद्वारा शंखधर साख्वाको शालिकमा माल्यार्पण

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको नयाँ थिमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
नेपाल संवत् ११४३ को अवसरमा आज बिहान शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको  माल्यार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको लोकोपकारी कार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय विभूति साख्वाले ऋणमा डुबेका नागरिकलाई ऋण मोचन एवम् दासत्वबाट मुक्त गराइ सम्मान र स्वतन्त्रतापूर्वक बाँच्ने वातावरणको सिर्जना गर्नुभएको बताउनुभयो।
उहाँले साख्वाको नाममा हुलाक टिकट प्रकाशन, आधारभूत विद्यालय स्तरको पाठ्यक्रममा अध्ययन, अध्यापनको व्यवस्था मिलाइएको र यसबाट नयाँ पुस्ताले सिक्दै जाने अवसर पाएको बताउनुभयो ।
२०४६ र २०६२/६३ को जनआन्दोलनसँगै राष्ट्रिय मान्यता प्राप्त गर्दै आएको नेपाल संवत्को प्रयोगले व्यापकता पाएको उहाँको भनाइ छ । साख्वाले देखाएको सत्मार्गमा प्रतिबद्ध भएर उहाँको महान् नेतृत्वबाट सबैले सिक्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
साख्वाले नेपाली समाजलाई अविस्मरणीय गुण लगाउनुभएका कारण तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो ।
शंखधरले गरेको कामबाट सबैले प्रेरणा लिन सके र सबै प्रतिबद्ध भएर लाग्न सके आर्थिक असमानता अन्त्य र समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई सरकारले निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न उचित प्रबन्ध गरेको बताउनुभयो ।
संविधानको सुरक्षा, आर्थिक समृद्धिका लागि चुनाव अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन सक्रियताका साथ सहभागी हुन उहाँले राजनीतिक दल,नागरिक समाज बुद्धिजीवी लगायत सबैमा आव्हान पनि गर्नुभयो ।
उहाँले आम निर्वाचन मुलुकको संविधानको रक्षा, आर्थिक सुदृढीकरणका लागि महत्त्वपूर्ण हुने बताउनुभयो । शंखधरले जस्तै दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत् को  व्यवहारिक कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले सरकारले शंखधर साख्वाःको योगदानलाई चिरस्थायी बनाउन नेपाल सरकारले साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घोषणा गर्ने तयारी गरेको बताउनु भयो ।उहाँले सरकारले साख्वाःको नाममा हरेक वर्ष तीन जना व्यक्तिलाई रु. एक लाखका दरले राष्ट्रिय पुरस्कार प्रदान गर्ने बताउँदै त्यसको प्रक्रिया सरकारले अगाडि बढाइसकेको बताउनु भयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शंखधर साख्वाःले पुर्‍याएको योगदानको चर्चा गर्दै महानगरले मध्यपुरथिमिमा रहेको शंखधर पार्कको निर्माणमा यसअघि एक करोड सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शंखधर साख्वाःको योगदानको चर्चा गर्दै नगरपालिकाले शंखधरको विविध योजनाहरू सञ्चालन गर्न १ करोड २० लाख रुपैयाँको बजेट विनियोजन गरेको बताउनु भयो ।
कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शंखधर साख्वाःको नाममा सरकारले राष्ट्रिय पुरस्कारको घोषणा गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिष्ठानले साख्वाःको नाममा मिनि सङ्ग्रहालयको रुपमा विकास गर्ने बताउँदै अहिले देखा परेको तिथि मितिको विवाद र फरकतालाई एकरूपता दिन विज्ञ टोली लाग्नु पर्ने बताउनु भयो ।
प्रतिष्ठानले यसवर्ष विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिलाई शंखधर सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री देउवाले गुथीका महेन्द्रगोपाल कर्माचार्यलाई उक्त सम्मान प्रदान गर्नु भयो भने प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरलाई पनि ‘शंखधर सम्मान’ प्रदान गर्नु भयो ।
त्यसैगरि प्रधानमन्त्री देउवाले काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, साहित्यकार तिलकप्रकाश कायस्थ, गीतकार पवित्र कसाः र पत्रकार सुगतरत्न सिन्दुराकारलाई शंखधर पदक प्रदान गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button