सल्यानमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
सल्यान । सल्यानमा देउसी भैलोका लागि निश्चित मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।
प्रशासनले तिहारको समयमा कानुन विपरीतका गतिविधि नहुने गरी मात्र देउसी भैलो, नाचगान गर्न आग्रह गरेको छ ।
साथै पर्वहरू मनाउँदा आफ्नो सांस्कृतिक पहिचान कायम राख्दै भड्किलो तथा खर्चालु नबनाउन र मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले देउसी भैलो तथा मनोरञ्जनात्मक कार्यहरू गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो ।
दीपावलीको समयमा दियो, मैनबत्ती, पालाहहरु बाल्ने एवं विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी तथा विपद्जन्य घटनाहरू घट्न सक्ने भएकाले सो तर्फ समेत सचेत रहन अनुरोध गरिएको आचार्यको भनाई छ । यदि कोही कसैले कानून विपरीतका कार्यहरू गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कार्यवाही गरिने समेत उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्