जुम्लामा वर्षेनी प्लाष्टिक मालाकै भर, स्थानीय उत्पादन शून्य
जुम्ला । नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा बजारमा फूलको व्यापार बढेको छ । पूर्वतिर थरीथरी स्थानीय उत्पादन फूलहरूको व्यापार बढी रहँदा कर्णालीमा भने आयातित प्लाष्टिक मालामै निर्भर छ । नेपाल सरकारले आयातित प्लाष्टिकका फूलमाला खरिद विक्री गर्न प्रतिबन्ध लगाएको छ । कोही कसैले प्लाष्टिकको मालाको विक्री गरेको पाइएमा एक लाख सम्म जरिवाना समेत गरिने चेतावनी दिएको छ ।
तर जुम्ला सहित माथिल्लो कर्णालीका सदरमुकामदेखि ग्रामीण बजारमा छ्यापछ्याप्ती जताततै प्लाष्टिक मालाले झिलिमिली भएका छन् । जुम्लामा एकतर्फ स्थानीय पुष्प खेतीमा चासो नदिने र अर्को तर्फ हावापानीले पनि साथ नदिने भएकोले वर्षेनी आयातित मालाकै व्यापार हुने गरेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामीले सकभर प्लाष्टिकको माला निषेध नै गर्ने लक्ष्य राखेका छौ । तर जुम्लामा विगतको तुलनामा यस वर्ष आयातित माला धेरै छैनन् । स्थानीय उत्पादन नहुँदा प्लाष्टिक माला लगाउन नागरिक बाध्य छन् ।”
स्थानीय सरकारले पुष्प खेतीका लागि पनि नीति सहित लगानी बढाउनु पर्नेमा अध्यक्ष देवकोटाको जोड छ । जुम्लामा २० रुपैयाँ देखि २ सय सम्मका प्लाष्टिक माला पाईने गरेका छन् । यसपाली कर्णाली राजमार्ग अवरुद्ध हुँदा नयाँ माला नआएपनि पुरानै मालाको पनि मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । साथै तिहारका लागि जुम्लामा भाई मसला लगायतको व्यापार पनि बढेको छ । यद्यपि, महँगी बढेको उपभोक्ताको गुनासो छ ।
सरकारले प्लाष्टिकको माला खरिद विक्री प्रतिबन्ध लगाएपछि नागरिकले पनि त्यसको पालना गर्न जरुरी छ । नागरिक समाजका अध्यक्ष राज बहादुर महत भन्छन्,“तिहारमा माला लगाउनै पर्छ भन्ने छैन । सकभर स्थानीय फूल भए लगाउने र प्लाष्टिकको माला दिदी बहिनिलाई पनि नल्याउन भन्दै आयातित मालाको विक्री रोक्न सकिन्छ ।”
जुम्ला सहित कालिकोट,मुगु,डोल्पा हुम्लामा चिसो हावापानीका कारण पनि तिहार सम्म स्थानीय फूल नरहने भएकोले आयातित माला प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
प्लाष्टिक मालाले वातावरण प्रदूषण हुने र लाखौँ रकम फजुल खर्च हुने भएकोले स्थानीय प्रशासनले कडाइ गर्नुका साथै स्थानीय सरकारले युवा लक्षित पुष्प खेतीको नीति र कार्यक्रम ल्याउन आवश्यक रहेको नागरिक अगुवाहरूको जोड । तिहारको समयमा मात्रै जुम्लामा अनुमानित १० लाख बराबरको प्लाष्टिक मालाको व्यापार हुने गरेको छ ।
जुम्लामा प्लाष्टिकको मालाको विकल्प नभएकाले पनि सरकारले लागु गरेको निर्देशनलाई कडा रुपमा पालना गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी बताउनुभयो । बजार अनुगमनमा जताततै प्लाष्टिक माला भेटिएपनि विक्री रोक्ने अवस्था छैन । स्थानीय उत्पादन शून्य छ । नागरिक तहबाट आवाज उठेमा प्रशासनले आयातित माला प्रतिबन्ध गर्ने प्रजिअ केसरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्