प्रचण्डको घोषणापत्र : कृषि क्याम्पस स्थापना देखि रुइला नाकासम्म मोटरबाटो
गोरखा । जिल्लाको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार, पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले चुनाव जितेपछि आफूले प्राथमिकताका साथ अघि बढाउने कार्यक्रमहरूको प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ ।
जिल्लाको समृद्धिको मार्गचित्र अन्तर्गत गेमचेन्जर योजनाहरू, राष्ट्रिय गौरवका आयोजना रुपमा लिएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणदेखि, गोरखकाली रबर उद्योग र पालुङटार एयरपोर्ट पुन सञ्चालन गर्ने, च्याङ्लीमा कृषि क्याम्पस खोल्ने, रुइला नाका सम्म मोटरबाटो निर्माण गर्ने र उत्तरी गोरखालाई विशेष क्षेत्र बनाउन पहल गर्नेसम्मका योजना रहेका छन् ।
बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने र बेनीघाट–लार्के (रुइला नाका) सडकखण्ड निर्माण कार्य पूरा गर्ने उल्लेख गरिएको छ । लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई पुनःसञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्न चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु गर्न सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिने, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् । गोरखाको उत्तरीक्षेत्र चुमभ्यालीमा एक सय वर्ष अघिदेखि सुरु गरिएको नेपालको एक मात्र अहिंसा क्षेत्रको संरक्षण र विकासमा जोड दिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
गोरखाको सिर्दिबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रमा पाइने जडीबुटी संरक्षण, सङ्कलन र प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । उत्तरी गोरखाको दुर्गम पालिका चुमनुब्री र धार्चेलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने विषय प्रतिबद्धता पत्रमा समेटिएका छन् ।
गाईखुर–च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाउने, सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्न पहल गर्ने र लिगलिगकोट–सिरानचोक–गोरखा दरबार–मनकामना आदिलाई समेटेर धार्मिक ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने लगायतका योजना उनको प्रतिबद्धता पत्रमा समावेश छन् ।
मध्यपहाडी लोकमार्गको गोरखा खण्ड र सबै पालिकाको केन्द्र हुँदै वडा कार्यालयसम्म पुग्ने सडकहरू कालोपत्रे गर्न जोड दिने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । आँबुखैरेनी–गोरखा सदरमुकाम सडकको मापदण्ड सम्बन्धी समस्यालाई प्राविधिक र वैज्ञानिक ढंगले हल गर्ने उहाँले आश्वासन दिनुभएको छ ।
बाह्रकिलो–बारपाक–लाप्राक–गुम्दा हुँदै माछाखोलासम्मको सडक कालोपत्रे गर्न पहल गर्ने र गोरखा क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिँदै प्राविधिक शिक्षाको रुपमा इन्जिनियरिङ विषय थप गर्न पहल गर्ने प्रचण्डले आफ्नो प्रतिबद्धता पत्र मार्फत बताएका छन् । घ्याम्पेसाल देखि ताकु सम्म बाटो कालोपत्रे गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
गोरखा अस्पताल, आँपपिपल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूको स्तर उन्नतिको जोड गरी स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्याइने घोषणापत्रमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्