‘१ सय २५ जना उम्मेदवारहरूबाट ४ करोड बढी जरिवाना असुल’
काठमाडौँ । निर्वाचन आयोगले गएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाएका समानुपातिक तर्फका उम्मेदवारलाई जरिवाना बुझाउन दिएको समयसीमा भित्र १ सय २५ जनाले जरिवाना रकम बुझाएका छन् ।
आयोगले १ सय २५ जना उम्मेदवारहरूबाट ४ करोड ३४ लाख २५ हजार रुपैयाँ जरिवाना रकम असुल गरेको निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणाली तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
यो तथ्याङ्क निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको सङ्ख्या मात्र हो ।
आयोगले सबै जिल्ला निर्वाचन कार्यालयबाट जरिवाना रकम बुझाउन सकिने व्यवस्था गरेको हुनाले यो सङ्ख्या बढ्न सक्ने प्रवक्ता वाग्लेले बताउनुभयो ।
आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरूको बन्द सूचीमा परेका तर स्थानीय निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण नबुझाएकालाई आज बेलुका ५ बजेभित्र जरिवाना बुझाए उम्मेदवारको सूची बुझाउनु पूर्व नै जरिवाना बुझाएको कायम गरिने जनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्