तपाईँ सुन्दै हुनुहुन्छः

फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना फेला

फुङ्लिङ । ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । 

जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रवार प्रहरीले फेला पारेको हो । 

गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताउनुभयो । 

फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरगहना र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । 

कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु नगद ११ लाख ६३ हजार दुई सय ५०  लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button