तपाईँ सुन्दै हुनुहुन्छः

अझै केही वर्ष गठबन्धन रहन्छ: प्रधानमन्त्री देउवा

रुपन्देही । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षाका लागि गठबन्धन अझै बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले गठबन्धनमाथि कुनै शङ्का उपशङ्का गर्न नहुने बताउँदै संविधान र लोकतन्त्र रक्षाका लागि अझै केही वर्ष गठबन्धन रहने बताउनुभयो । पाँच दलीय गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले मङ्सिरको चुनावपछि देशमा गठबन्धनको सरकार बन्ने बताउनुभयो ।

उहाँले देशमा राजनीतिक स्थायित्व र स्थायी शान्ति आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सबैलाई आह्वान गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बचाउन, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाली काँग्रेससँग मिलेर नै देशका महत्त्वपूर्ण उपलब्धिहरू आएकाले अहिले पनि सबै नेता कार्यकर्तालाई त्यो आवश्यकता महसुस गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रियता, संविधान र गणतन्त्रमाथि खतरा रहेकाले त्यसका विरुद्ध गठबन्धन अझै आवश्यक परिरहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक आवश्यकताअनुसार बनेको गठबन्धनलाई अझै बलियो र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । संविधानलाई कमजोर बनाउनेहरूलाई निर्वाचनबाट पराजित गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डे, नेकपा एकीकृत समाजवादीका यादवबहादुर रायमाझी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button