तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ-८ लाई सांस्कृतिक राजधानी बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको सांस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा वसन्तपुर दरबार स्क्वायर र स्वयम्भु जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरूको संरक्षण र पर्यटकीय स्थल ह्वाईट गुम्बा वरपर पूर्वाधार विकास गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो । 

निर्वाचन परिचालन समितिले काठमाडौँको डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायर र स्वयम्भूलाई जोड्ने सम्पदा मार्ग निर्माण कार्य सुरु भइसकेको बताउनुभयो । स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदाहरूलाई विश्व सामु चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उहाँको भनाइ छ । 

दुवै विश्व सम्पदाको बीचमा रहेका कयौँ स्थानीय सम्पदाहरूको पहिचान र संरक्षणबाट उक्त क्षेत्र सांस्कृतिक राजधानीका रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो । सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत आर्य आर्जन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button