राष्ट्रिय खेलकुदले अधुरो खेलमैदानलाई पूर्णता दिने चुनौती थप्यो
म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा भएको दर्शकको उपस्थितिले बेनीको अधुरो खेलमैदानलाई पूर्णता दिने चुनौती सिर्जना गरेको छ ।
असोज २८ देखि २ गतेसम्म सञ्चालन भएको महिला भलिबल खेलको प्रतिस्पर्धा अवलोकन गर्न आएका दर्शकका लागि व्यवस्था गरिएको प्यारापिट, कुर्चि र कार्पेट बिछ्याइएको भुईँमा नअटाएपछि उभिएरै हेर्नुपरेको थियो । खेल अवलोकनका लागि अपेक्षा भन्दा बढी दर्शक आएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।
“पाँच हजार दर्शक आउने अनुमान गरेर तयारी गरेका थियौँ,” उहाँले भन्नुभयो “फाइनलका दिन नौ हजार भन्दा बढी दर्शक आए । प्यारापिटको क्षमता बढाउन निर्माणाधीन खेलमैदानलाई पूर्णता दिनुपर्ने चुनौती थपिएको छ ।” खेलमैदानको बीचमा दुई वटा भलिबल कोर्ट बनाइएको थियो । बेनी नगरपालिकाले बनाएको प्यारापिटलाई रङ्ग लगाइएको थियो । प्यारापिट र खेलस्थलको बीचमा एक लहर कार्पेट, त्यसपछि कुर्चि र कुर्चिपछि उभिने ठाउँ बनाइएको थियो । बस्ने ठाउँ नभएपछि घण्टौँ उभिएर खेल अवलोकन गर्न असहज भएको बेनपा–९ का चामबहादुर पुनले बताउनुभयो ।
“सबैले सहज रुपमा खेल अवलोकन गर्ने बनाउन प्यारापिटलाई पूर्णता दिनुपर्छ”, बेनीका लक्ष्मण शर्माले भन्नुभयो, “दर्शकले घरको छत र रुखमा चढेर पनि खेल अवलोकन गर्नुपरेको थियो ।” तेक्वान्दो सञ्चालन भएको कालीपुलको कभर्डहलमा भने वत्ति र पङ्खा जडानका साथै रङ रोगन गरिएको थियो । कभर्डहलमा पनि दर्शकलाई खेल अवलोकन गर्न उभिनुपरेको थियो । कभर्डहलको मञ्चमा बोलेको आवाज नसुनिने अर्को समस्या थियो ।
नवौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार बनाउन बजेट नआएको र भएका संरचनालाई व्यवस्थित गरेर खेल सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको भनाइ छ ।
खेलमैदान निर्माण अधुरो
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एक मात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।
त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो ।
म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्यारापिट बनेको छ ।
कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ ।
विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा रु छ लाख ५० हजार र २०७३ मा रु ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।
विसं २०७४ मा रु एक करोड र २०७५/७६ मा रु। ६० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाले रु नौ लाख अर्थ मन्त्रालयले रु ५० लाख, खेलकुद मन्त्रालयले रु ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख विनियोजन भएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खुल्ला मञ्च खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाख बजेट कार्यान्वयन गर्न ठेक्का आह्वान गरिसकेको बताउनुभयो । नवौँ राष्ट्रिय खेल सञ्चालनका क्रममा बेनी आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र सदस्य राजेश गुरुङले खेलमैदान निर्माणलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पहिलो पटक राष्ट्रिय प्रतियोगिता
म्याग्दीको खेल इतिहासमा पहिलो पटक महिला भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता सञ्चालन भएको हो । दुई वटै खेलका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री गरेर ६०० जना भन्दा बढी पाहुना आएका थिए ।
आवास व्यवस्थापन होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घसँगको समन्वयमा भएको थियो । उद्घाटन समारोहमा विभिन्न जातजातिको वेषभूषा र कला संस्कृति सहितको झाँकी प्रदर्शन गरिएको थियो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले नवौँ खेलकुदले बेनी बजारलाई चलायमान बनाउन र यहाँको पर्यटन प्रवद्र्धन तथा धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलको प्रचारप्रसारमा सहयोग पुगेको बताउनुभयो ।
जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले राष्ट्रिय प्रतियोगिताले म्याग्दीका खेलाडीलाई उत्साहितका साथै अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी र खेल सञ्चालन गरेका रेफ्री, यामपायरबाट सिक्ने अवसर मिलेको बताउनुभयो । पूर्वदेखि पश्चिम र हिमालदेखि पहाड, तराईका खेलाडीको खेल्ने कला र सिपबाट स्थानीय खेलाडीलाई थप ज्ञान हासिल भएको बानियाँले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्