तपाईँ सुन्दै हुनुहुन्छः

आचारसंहिता उल्लङ्घनका विषयमा मिडिया वाचडग हुनुपर्छ : आयुक्त डा.तुलाधर

काठमाडौँ । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवं मितव्ययी निर्वाचनका लागि राज्यको चौथो अङ्ग पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि लुम्बिनी प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज नेपालगञ्जमा उद्घाटन गर्नुहुँदै आयुक्त डा.तुलाधरले आयोगले मिडियासँग ‘हामी सधैँ सँगै’ भन्ने मूल मन्त्रका साथ सहकार्य गरिरहेको बताउनुभयो ।

संवैधानिक काम, कर्तव्य र दायित्व पूरा गर्न आयोग सक्षम रहेको बताउँदै उहाँले मिडियासँगको सहकार्य र समन्वयलाई आयोगले उच्च महत्त्व दिएको बताउनुभयो । उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी निर्वाचन गराउन मिडिया र सञ्चारकर्मीको सक्रिय र रचनात्मक भूमिका अपरिहार्य रहेको आयुक्त तुलाधरले बताउनुभयो ।

आयोगको नीति र रणनीतिअनुसार नै मिडिया अभिमुखीकरण आयोजना गरिएको बताउँदै उहाँले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात्का समयमा हुने गतिविधिमा मिडियाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

निर्वाचन आचारसंहिता पूर्ण पालना सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै आयुक्त डा.तुलाधरले आचारसंहिता उल्लङ्घन गर्नेहरूको रिपोर्टिङ गरी आयोगलाई सूचना दिएर मिडियाले सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक दल तथा उम्मेदवारले गर्ने निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लङ्घन गरे र नगरेको विषयमा वाचडगको भूमिका मिडियाले निर्वाह गर्न सकेमा निर्वाचनको स्वच्छता कायम राख्न सकिने बताउनुभयो ।

निर्वाचनका क्रममा प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न मिडिया र सञ्चारकर्मीहरू अगुवा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियमन गर्न आयोगले विभिन्न टेक कम्पनीहरूसँग सहकार्य गरिरहेको जानकारी पनि उहाँले सो अवसरमा दिनुभयो ।

मतदानस्थल, मतदातालाई पहुँचयोग्य बनाउन मिडियाहरूले दिएको सुझावलाई मनन गरेर आयोगले सुधार गरेको बताउँदै उहाँले कुनै पनि मतदाता आफ्नो मताधिकारबाट वञ्चित नहोउन् भनेर आयोग सजग रहेको बताउँदै उहाँले मतदानको महत्त्व र मतदान गर्ने सही तरिकाबारे मिडियाले सामग्री सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । मतदाता शिक्षालाई मतदाताको घरदैलोमा पुर्‍याउने गरी आयोगले संयन्त्र निर्माण गरेको उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन मिडिया तथा सञ्चारकर्मीहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आयुक्त डा.तुलाधरले अभिमुखीकरण कार्यक्रमबाट सञ्चारकर्मीलाई निर्वाचनका विविध पक्षबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button