तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने निर्वाचन (प्रत्यक्ष) प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । 

बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

हालसम्म १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ । जसमा प्रदेशसभातर्फको ६४ लाख ३२ हजार ५०० र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार रहेको छ । 

हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब ४ करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ ।

यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ । 

त्यसैगरी, प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा ढुवानी शुरु
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी शुरु भएको छ । 

कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला लगायतका जिल्लाहरूमा मतपत्र ढुवानी भएको छ । 

बागमती, मधेश र प्रदेश नं.१ का जिल्लाहरूमा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button