अपाङ्गता भएका व्यक्तिहरूका लागि नमूना मतदान सम्पन्न
बारा । निर्वाचनलाई लक्षित गरि बाराको डुमरवानामा अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदाता शिक्षा एवम् नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

मतदान केन्द्र कसरी पहुँचयुक्त बनाउने भन्ने सन्देश दिने उद्देश्यले सञ्चालन भएको कार्यक्रम यूएस एड र आइएफइयसको आर्थिक सहयोग तथा नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्यालयको प्रायोजनमा नेत्रहीन युवा संघ नेपाल जिल्ला शाखा बाराको आयोजनमा सम्पन्न भएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान गर्न योग्य १८ देखि २२ वर्ष उमेर समूहका व्यक्ति तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मुख्य प्राथमिकतामा राखी कार्यक्रमको आयोजना गरिएको थियो ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानामा सञ्चालित कार्यक्रममा करिब ६० भन्दा बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ५०% भन्दा बढी विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । विद्यालयका शिक्षक, कर्मचारी, स्थानीय लगायत सञ्चारकर्मीहरूले पनि नमुना मतदान कार्यक्रममा सहभागिता जनाएका थिए ।
झण्डै ६० भन्दा बढी मत खसेकोमा १७ मत बदर भएको बताइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्