रग्बीमा स्वर्ण पदक पुरुषतर्फको एपीएफ र महिलातर्फ आर्मीलाई

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लेखनाथको भण्डारढिकमा आयोजित रग्बीमा पुरुषतर्फको स्वर्ण पदक सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरमा पछि पार्दै स्वर्ण पदक जितेको हो । सेमिफाइनलमा आर्मीलाई ५–० अङ्कले पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको थियो भने गण्डकी प्रदेशलाई १७–७ को अन्तरले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको थियो ।
पुरुषतर्फको कास्य पदक भने गण्डकी प्रदेशले जितेको छ । गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पारेको हो ।

यस्तै महिलातर्फको स्वर्ण पदक त्रिभुवन आर्मीले जितेको छ । फाइनल खेलमा आर्मीले एपीएफलाई १०–० ले पछि पार्दै स्वर्ण पदक जितेको हो । आर्मीले मधेश प्रदेशलाई १७–५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने एपीएफले सुदूरपश्चिम प्रदेशलाई १०–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
यस्तै कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जित्न सफल भयो ।








प्रतिक्रिया राख्नुहोस्