बार्सिलोनामा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
काठमाडौँ । युरोपको ऐतिहासिक शहर स्पेनको बार्सिलोनामा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
स्पेनको चर्चित पर्यटकीय क्षेत्रमा गैर आवासीय नेपाली संघ स्पेन र नेपाली जनप्रगतीशिल मञ्च स्पेनको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली कला, नृत्य तथा बाजा गाजा, सांस्कृतिक तथा नेपालका पर्यटकीय सम्भावनाहरूको बारेमा प्रचार प्रसार गरिएको थियो ।

नेपाल पर्यटन प्रवर्द्धन तथा दसैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रमको स्पेनका लागि नेपाली राजदूत डा शर्मिला पराजुली ढकालले उद्घाटन गर्नुहुँदै युरोपको ऐतिहासिक सहरमा भएको नेपाल प्रवर्द्धन कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ स्पेनले व्यवस्था गरेको पञ्चेबाजा बजाएर विभिन्न नेपाली भेषभुषामा नेपाली कलाकारहरूले नृत्य प्रस्तुत गर्दा युरोपका विभिन्न मुलुकहरूबाट भ्रमणका लागि त्यहाँ पुगेका पर्यटकहरू चार घण्टासम्म आनन्दित भएर नाचगान गरेको आयोजक संस्था गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिकराम डुम्रेले बताउनुभयो ।

नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागी भएका १ हजार भन्दा बढी सहभागीहरू मध्ये करिब ५ सय ५० जति विभिन्न देशका पर्यटकहरूले नेपाल भ्रमण मेलाको उत्सुकतापूर्वक अवलोकन गरेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी पर्यटकहरूलाई नेपाल भ्रमण वर्षको लोगो अङ्कित टिसर्ट निःशुल्क वितरण गरी नेपाल भ्रमण गर्न आग्रह समेत गरिएको थियो । कार्यक्रममा स्पेनस्थित नेपाली समुदायका व्यक्तिहरू र त्यहाँस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्