तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीको असहाय तथा वृद्धवृद्धा कल्याण समाज आर्थिक सङ्कटमा

वीरगञ्ज । असहायहरूको पालन पोषण र संरक्षणका लागि व्यक्तिगत पहलमा ठोरीमा स्थापित असहाय तथा वृद्धवृद्धा कल्याण समाजमा आर्थिक संकट परेको छ ।

पर्साको सुदूर पश्चिममा पर्ने ठोरी गाउँपालिका १ मा समाजसेवी आश बहादुर गुरुङले सञ्चालन गरिरहेको कल्याण समाजमा असहायहरूको रेखदेख र पालनपोषण गर्न आर्थिक अभाव भएको आश्रममा संस्थापक तथा संरक्षक गुरुङले जानकारी दिनुभयो । भगवाननगरमा रहेको सो संस्थामा हाल २३ जना अशक्त, असहाय तथा वृद्धवृद्धाहरु रहेका छन् ।

आश्रममा आश्रय लिइरहेका असहायहरूको पालनपोषणमा मासिक करिब ७० हजार जति खर्च हुने गरेको संरक्षक गुरुङले बताउनुभयो । विभिन्न दाता र संस्थाहरूले बेलाबेलामा प्रदान गर्ने लत्ताकपडा र खाद्यान्न तथा भारतीय सेनाका जागिरे समेत रहेका गुरुङको पेन्सनको रकमबाट आश्रम चल्दै आइरहेको छ ।

गुरुङले हाल प्राप्त गर्दै आइरहेको मासिक २३ हजार पेन्सन समेत सोही संस्थामा प्रयोग गर्दै आउनुभएको छ । केही दिन यता पेन्सनको रकमले समेत अपुग भएपछि संस्थामा आर्थिक संकट परेको हो ।

चामल, दाल लगायतका खाद्यान्न सामग्रीको तत्काल जोहो गरेको भए पनि महिला र कतिपय ओछ्यानमा दिसा पिसाब गर्ने अवस्थाका असहायहरूका लागि स्वास्थ्य सामाग्री खरिदमा समस्या परेको गुरुङले बताउनुभयो ।

मङ्गलबार पेन्सनको रकम झिक्न वीरगञ्ज पुगेका गुरुङले पेन्सनको रकम झिक्न नसकेपछि मानव सेवा आश्रमसँग सहयोग लिएर एम्बुलेन्समा तेल भर्नुपरेको बाध्यता सुनाउनुभयो । आश्रमको स्वामित्वमा भारत सरकारको सहयोगमा प्राप्त एक थान एम्बुलेन्स छ । आश्रमको काम र बिरामी ओसारपसारमा उहाँले सोही एम्बुलेन्स प्रयोग गर्दै आउनुभएको छ ।

आश्रममा दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि स्थानीय युवा सन्तोष श्रेष्ठको पहलमा रु ५ अभियान सञ्चालन गरिएको छ ।

उक्त अभियानमा सहभागी हुन इच्छुक सहयोगीहरूले दैनिक ५ रुपैयाँका दरले एकमुष्ट वार्षिक वा सो भन्दा धेरै रकम सिधै ५ अभियानको खातामा जम्मा गर्न सक्ने अभियन्ता श्रेष्ठले बताउनुभयो ।

तर आश्रमका लागि आवश्यक पर्ने खाद्यान्न तथा औषधी उपचारका सामाग्री प्रदान गर्ने संघ संस्था नहुँदा सधैको समस्या भएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button