बङ्गुर पालेर बजारको फोहोरलाई मोहोर बनाउँदै उद्यमी मनोज
जुम्ला । जुम्लाका नमुना उद्यमी तथा राजनीतिकर्मी मनोज बुढाथोकी मगरले व्यावसायिक बङ्गुर पालन गरेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहनुभएको छ ।
आर्थिक समृद्धि, रोजगारी सृजना र फोहोर व्यवस्थापनको दिगो लक्ष्य राखी २०७४ सालबाट ६ लाख रुपैयाँ लगानीमा सुरु गरिएको बङ्गुर पालनले बहुउपयोगी फाइदा गरेको उद्यमी मगर बताउनुहुन्छ ।

एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय शुरु गर्दा ३ वटा बङ्गुर थिए, अहिले ४५ वटा पुगेका छन् । “बहुउद्देश्यीय लक्ष्यले बङ्गुर पालन सुरु गरिएको हो । बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको सकस पनि उतिकै छ । तर हामीले बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छौ ।” मगरले बताउनुभयो ।
बङ्गुर फर्म आसपासको जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना छ । बजारको फोहोर खुवाउने, दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ ।
दैनिक रुपमा बजारको झण्डै ३ क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा सङ्कलन गरी बङ्गुरको दानाको रुपमा प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।

बङ्गुरको दानाका लागि मनोजले व्यक्तिगत रुपमा फोहोर उठाउँदा पछिल्लो समय बजारको फोहोर कम हुँदै गएको छ । चाँडै जुम्लामा बङ्गुरको प्याकेजिङ मासु विक्री गर्ने तयारी समेत भइरहेको छ ।
मगरले बङ्गुर पालेर एकातिर उद्यमशीलता, रोजगारी सृजना र आर्थिक आम्दानी गरिरहनुभएको छ भने अर्कोतिर फोहोरको दीर्घकालीन व्यवस्थापनको उत्तम विकल्प प्रस्तुत ।

जुम्लामा इन्टरलक इट्टा उद्योग सञ्चालन, बङ्गुर पालन लगायतका विभिन्न व्यवसायबाट झण्डै ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको मगरले उल्लेख गर्नुभयो । बङ्गुर पालनपछि कुटानी पिसानी मिल समेत सञ्चालनमा ल्याइएको छ । जसबाट स्थानीयलाई राहत भएको छ भने आएको भुस बङ्गुरलाई दाना ।
राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका मनोज आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुहुन्छ । उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उहाँको विश्वास छ ।








प्रतिक्रिया राख्नुहोस्