तपाईँ सुन्दै हुनुहुन्छः

समूह विजेता बन्दै एपीएफ सेमिफाइनलमा

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा समूह (बी) को विजेता बन्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले बागमतीलाई ३–१ गोलले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जीतसँगै ६ अङ्कका साथ एपीएफ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको एपिएफले दोस्रो पुनरागमनसहित जित हात पारेको हो ।

यसअघि एपिएफले मधेश प्रदेशलाई ६–० ले हराएको थियो भने बागमतीले मधेशलाई २–० ले हराएको थियो । हारसँगै अङ्कविहीन बनेको मधेश प्रदेश लिग चरणबाटै बाहिरिएको छ ।

प्रतिष्ठाको खेलमा पुलिस विजयी
यस्तै पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । समूह ‘सी’ अन्तरगत भएको प्रतिष्ठाको खेलमा पुलिसले सानदार जित निकालेको हो ।

समूह सी बाट आर्मी शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्दा पुलिस र लुम्बिनी बाहिरिएको थियो । पुलिसको जितमा कुलदिपले दुई तथा आषिस श्रेष्ठ र बुद्धबल तामाङले समान १/१ गोल गरे । लुम्बिनीका लागि फागु राम थारुले एक गोल गरे ।

एनआरएन र गण्डकीबिच रद्द भएको खेलको निर्णय गण्डकीको पक्षमा
आइतबार लामाचौरस्थित गोस्ते खेल मैदानमा समूह ए अन्तरगत रद्द भएको एनआरएन र गण्डकी प्रदेशबिचको खेलको निर्णय गण्डकीको पक्षमा गएको छ ।

एनआरएनले नियम विपरीत ८ खेलाडी खेलाएको भन्दै प्रदेश नं. १ ले प्रोटेस्ट दिएपछि २–० गोलले जितेको खेलको निर्णय उल्टिएर प्रदेश १ को पक्षमा पुगेको थियो ।

८ जना खेलाडीलाई कारबाही गरेपछि आइतबार गण्डकी विरुद्धको खेलमा समेत सोही खेलाडीलाई नियमित खेलाडीको सूचिमा राख्दा खेल रद्द भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले उक्त खेलमा कारबाही गरिएको खेलाडीलाई नै प्लेइङ सेटमा राखेको भन्दै गण्डकीले जितेको निर्णय गरिदिएको हो । निर्णयसँगै गण्डकी ६ अङ्कका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button