तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान जिल्ला अस्पताल भवन निर्माण एक वर्षदेखि अलपत्र 

सल्यान I सल्यान जिल्ला अस्पतालको भवन निर्माण कार्य झन्डै  एक वर्ष देखि अलपत्र परेको छ । ठेकेदारको चरम लापरवाहीका कारण अस्पतालको दुई भवन निर्माण अलपत्र परेको हो । 

अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तर वृद्धि गर्न भवन निर्माणको काम थालिए पनि निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवा विगत एक वर्षदेखि सम्पर्क विहीन भएकाे छ । कम्पनीले भवन निर्माणका लागि १ करोड ५० लाख पेश्की समेत लिई सकेको छ । कम्पनीले तीन वर्षमा भवन निर्माणको कार्य सम्पन्न गर्ने गरी २०७८ वैशाखमा सम्झौता गरेको थियो ।

 सम्झौता गरेको एक वर्ष बितिसक्दा समेत भवन निर्माणका लागि जमिन मिलाउने बाहेक अन्य कुनै प्रगति भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनु भयो । निर्माण कम्पनीले बिचमै काम अलपत्र पारेपछि समयमै भवन पुरा हुनेमा आशंका उत्पन्न भएको उहाँको भनाई छ । ठेकेदार कम्पनीलाई पटक पटक निर्माण कार्य सुरु गर्न पत्र काटे पनि कुनै प्रतिक्रिया नआएको श्रेष्ठको भनाई छ । 

१५ शय्याको अस्पतालमा अहिले ३७ बेड राखेर उपचार भइरहेको छ । अस्पतालमा सल्यान सहित रुकुम र रोल्पाका दैनिक २०० सय बढी बिरामी उपचारका लागि आउने गर्दछन् । सीमित स्रोत साधन र भौतिक पूर्वाधारका बिचमा पनि बिरामीहरूलाई सेवा दिइरहेको सल्यान जिल्ला अस्पतालले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button