‘जोशीले संस्कृतिको क्षेत्रमा गर्नुभएको जस्तो अध्ययन अहिलेसम्म हुन सकेको छैन’

काठमाडौं । हाम्रा बन पाखाहरू लोक साहित्यका मुहान हुन् । तिनै वनपाखामा हाम्रै जीवनका सुख दुखका गीत गाउँदै रमाउने जुरेली चराको गीत सुनेर जुरेली दर्शन प्रतिपादन गर्नुभएका शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषाको साहित्य विकासका लागि नेपाल भाषा एकेडेमीको स्थापना गर्नुभयो र कुलपति भएर नेपाल भाषाको साहित्यको विकासमा विशेष योगदान दिनुभयो ।
काठमाडौँ उपत्यकाको सुविधा सम्पन्न नेवार परिवारमा जन्मनुभएका जोशीले नेपाली भाषाको उद्गमस्थल कर्णालीको सिंजा उपत्यकामा स्थलगत अध्ययन गरेर लोक साहित्य संस्कृतिका क्षेत्रमा ठूलो गुण लगाउनुभएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कार्यवाहक कुलपति डा. जगमान गुरुङ सत्यमोहन जोशीको नेतृत्वमा २०२८ सालमा भएको जस्तो अध्ययन अहिलेसम्म हुन नसकेको स्मरण गर्नुभयो ।
सधैँ खोज अनुसन्धान र सिर्जनामा रम्न रुचाउनुहुने जोशी काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, समालोचक, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध हुनुहुन्छ ।
साथै, धर्म र दर्शनका मौलिक र अनूदित कृति प्रकाशित गरेर उहाँ कुशल अन्वेषक र अनुसन्धाताका रूपमा प्रतिष्ठित हुनुहुन्छ । कलाकार अरनिकोलाई नेपालमा चिनाउन पनि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।
सत्यमोहन जोशी ९५ वर्ष हुँदाका बखतदेखि नै उहाँलाई वाङ्मय शताब्दी पुरुष घोषणा अभियान चलाउनुहुने उहाँ निकट साहित्यकार एवं नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँ संस्कृतिविद् जोशीलाई बहुमुखी प्रतिभाका खम्बाका रुपमा लिनुहुन्छ ।
नेपाली भाषाका प्रशिक्षक भएर विभिन्न मुलुकमा पुगेर उहाँले हाम्रो भाषा साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न पुलको काम गर्नुभयो । गाउँ गाउँ पुगेर खोजिएको नेपालको लोकसंस्कृति कृतिका लागि उहाँले स्थापना भएकै साल २०१३ सालमा मदन पुरस्कार पाउनुभयो । त्यसपछि पनि उहाँले २०१७ र २०२८ सालमा गरी दुई पटक मदन पुरस्कार प्राप्त गर्नुभएको छ ।
लोक साहित्य र संस्कृतिका पर्याय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली लोक साहित्यमा सबैले सधैँ सम्झिरहने नाम हो । विभिन्न विधामा गरी सात दर्जनभन्दा बढी कृति प्रकाशन गर्नुभएका अमर संस्कृतिकर्मी एवं सर्जक सत्यमोहन जोशीप्रति हार्दिक श्रद्धाञ्जली ।








प्रतिक्रिया राख्नुहोस्