मधेश प्रदेशमा कूल जनसङ्ख्याको ७ प्रतिशतले मात्र गराए स्वास्थ्य बिमा

जनकपुरधाम। मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बिमाको अवस्था सन्तोष जनक रहेको छैन । मधेश प्रदेशका जिल्लाहरूमा कूल जनसङ्ख्याको ७ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य निर्देशनालयद्वारा जनकपुरधाममा आयोजना गरिईएको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिनमा मधेश प्रदेशको कूल जनसङ्ख्या ४ लाख १२ हजार ९ सय ९४ जनाले मात्र स्वास्थ्य बिमा गराएको जानकारी दिइएको छ । मधेश प्रदेशमा करिब ६२ लाख जनसङ्ख्या रहेको छ ।
देशको बागमती प्रदेश पछि सबै भन्दा बढी जनसङ्ख्या मधेश प्रदेशमा रहेको छ । यति मात्र नभएर गरिबी तथा अशिक्षाको दृष्टिकोणले मुलुककै अग्रणी प्रदेशमा रहेको छ । मधेश प्रदेश समग्र मानव सूचकाङ्कको दृष्टिकोणले निक्कै पछाडि परेको छ । त्यस कारणले पनि प्रदेशमा स्वास्थ्य बिमाको अवस्था दयनीय रहेको छ ।
नेपालको संविधान २०७२ ले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु आम जनताको मौलिक हकको रुपमा रहेकाले स्वास्थ्यमा आम जनताको पहुँच बढाउनका लागि नेपाल सरकारले स्वास्थ्य विमालाई ठूलो माध्यम बनाएको छ । २०७४ साल माघ २५ गते मधेश प्रदेशको महोत्तरी जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम लागु गरेर अहिले प्रदेशको ८ वटै जिल्लामा लागु रहेको छ ।
स्वास्थ्य बिमा गराउने मध्ये २ लाख १० हजार ७ सय १४ पुरुष र २ लाख २ हजार ५ सय ८० महिला रहेको स्वास्थ्य बिमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले जानकारी दिनु भएको छ । स्वास्थ्य बिमा गराएकाहरूले पनि पुनः दर्ता नगराउने पनि ठूलो समस्याको रुपमा रहेको छ । मधेश प्रदेशका सरकारी तथा नीजि गरेर ८ वटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाहरूले बिमा गर्ने गरेका छन् ।
जिल्ला स्तरमा सबै भन्दा बढी स्वास्थ्य बिमा सिरहा जिल्लामा भएको छ । सिरहा जिल्लामा कूल विमित मध्ये १ लाख ५ हजार ४ सय जनाले बिमा गराएको छ । सबै भन्दा कम सर्लाही जिल्लामा बिमा गराउनेहरू रहेका छन् । सर्लाही जिल्लामा २३ हजार ६ सय ५५ जनाले बिमा गराएको पनि बिमा वार्डको प्रादेशिक कार्यालयले जानकारी दिएको छ । सिरहा जिल्लामा अतिविपन्न समूहमा पर्ने १ हजार ८ सय १४ जनाले बिमा गराएका छन् ।
यता स्वास्थ्य बिमा गराउनेले उपचार नपाएका कारणले बिमा प्रति सर्वसाधारणको रुचि बढ्न सकेको छैन । बिमा गर्ने संस्थाले अस्पतालले गरेको विमितको उपचार खर्च समयमा नतिर्ने गरेका कारणले बिमा गराउनेको गति मधेश प्रदेशमा मन्द रहेको छ । बिमा प्रति स्थानीय सरकारका प्रमुखहरू ईमान्दार नबनेका कारणले बिमा कार्यक्रम राम्रो भएपनि गति लिन नसकेको बिमा बोर्डको धारणा रहेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउनका लागि सबै पक्षको संयुक्त सहकार्य हुन आवश्यक रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्