तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ राष्ट्रिय खेलकुद: कुस्ती र सेपाताक्रो शनिबारदेखि

कावासोती । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने कुस्ती र सेपाताक्रोको सबै तयारी पूरा भएको छ ।

कावासोतीस्थित योङ्ग स्टार क्लबको कभर्ड हलमा सेपाताक्रो र कुस्ती थारु राष्ट्रिय सङ्ग्रहालय डन्डाको सभा हलमा हुने खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।

खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साज सज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको नेपाल सेपाताक्रोका केन्द्रीय अध्यक्ष एवम् सेपाताक्रो खेल संयोजक नेत्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान ७ बजे विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ ।

कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा कुस्तीतर्फ पुरुष ९१ र महिला ६९ गरी एक सय ६० जना र सेपाताक्रोतर्फ ९८ जना खेलाडीले भाग लिनेछन् ।

महिला र पुरुषको फरक फरक तीन वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टिमले भाग लिनेछन् भने कुस्तीतर्फ सात वटा प्रदेश र तीन वटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले भाग लिनेछन् । अधिकांश टिमका खेलाडी र प्राविधिक बिहीबार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button