सुनसरी–४ बाट दोस्रो पटक चुनाव लड्दै सञ्चारमन्त्री कार्की

सुनसरी । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट दोस्रो पटक चुनावमा होमिनु भएको छ । सञ्चारमन्त्री कार्की असोज २३ गते सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरि चुनावमा होमिनु भएको हो ।
२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक २०७४ सालको निर्वाचनमा अर्थमन्त्री भएको बेला सुनसरी क्षेत्र नम्बर–४ बाट विजयी हुनुभएको थियो । दोस्रो पटक पनि सञ्चारमन्त्री कार्कीले सुनसरी–४ बाटै उम्मेदवारी दर्ता गराउनु भएर चुनावी मैदानमा उत्रिनुभएको छ ।
२०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि पुनः दोस्रो पटक पनि सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेसको तर्फबाट सञ्चारमन्त्री कार्कीले सुनसरी–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ ।
२०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठले कार्कीसँग पराजित हुनुभएको थियो भने यस पटक नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट जगदीश प्रसाद कुसियैतसँग प्रतिस्पर्धा हुँदैछ ।
सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा कोसी गाउँपालिकाका आठवटा वडा, बराहक्षेत्र नगरपालिकाका ६ देखी ११ सम्मका वडा, रामधुनी नगरपालिकाका ४ नम्बर वडा, इनरुवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाका आठवटा वडा र हरिनगर गाउँपालिकाका १,२,४,५,६ र ७ नम्बर वडाहरू पर्दछ । सुनसरी क्षेत्र नम्बर–४ मा ६८ हजार ५०२ पुरुष र ५९ हजार ५६३ गरि एक लाख २८ हजार ६५ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्