तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको विजयी सुरुवात

कास्की  । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले विजयी शुरुवात गरेको छ । 

पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्की तर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औँ मिनेटमा कार्कीले नै दोस्रो गर्दै अग्रता दोब्बर बनाए । खेलको ३७ औँ मिनेटमा प्रदीप राजवंशीले तेस्रो गोल गरे भने ४२ औँ मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाएका हुन् ।

मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उद्घाटन पनि निर्धारित समय भन्दा कहिबेर ढिला भएको थियो । उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ बीच हुने भनिए पनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले गर्नुभएको थियो । 

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो  । “खेल क्षेत्रको समस्या पहिचान गरि यसलाई विकास गर्नको लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ,” उहाँले भन्नुभयो, “खेलाडीको मनोबल उच्च राख्नको लागि सरकारले विभिन्न योजना? बनाएको छ,विगतको जस्तो निराश हुने अवस्था छैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button