तपाईँ सुन्दै हुनुहुन्छः

‘खर्चको प्रभावकारिता वृद्धि गर्न सरकारले ध्यान दिनुपर्छ’

काठमाडौँ । वित्त आयोगले संघ, प्रदेश तथा स्थानीय तहका सरकारहरुबीच काममा हुने दोहोरोपन तथा खर्चका सम्बन्धमा राष्ट्रिय मानक बनाउन संघ सरकारसँग मिलेर काम गर्न चाहेको बताएको छ । 

आयोगको वार्षिक उत्सवको अवसरमा आयोगको सभाहल सिहदरवारमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रिय मानक बनाउन संघ सरकारसँग मिलेर काम गर्न चाहेको बताउनुभएको हो ।

अध्यक्ष पौडेलले सबै तहका सरकारको खर्चको क्षमता वृद्धि गर्न उनीहरूको दक्षता वृद्धि आवश्यक भएकोमा पनि जोड दिनुभयो । 

उहाँले सशर्त अनुदान वितरण गर्ने आधार सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले संवैधानिक आयोगहरूका साझा समस्याहरूको समाधानका लागि सहकार्य आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।

कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्माले प्राकृतिक स्रोत तथा वित्त आयोगले जुन प्रयोजन राखेर स्रोतको बाँडफाँड गर्न सरकारलाई सिफारिस गरेको छ त्यो प्रयोजन अनुसार भए नभएकोमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

संवैधानिक आयोगहरूले मेहनत गरेर तयार पारेका प्रतिवेदनहरूको कार्यान्वयनमा नेपाल सरकारले ध्यान दिनु पर्नेमा पनि महालेखा परीक्षक टंकमणि शर्माले जोड दिनुभयो ।

उहाँले विना योजना वातावरण विनाश हुने गरी विकास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन पनि वित्त आयोगलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न प्रकाशनहरू सार्वजनिक गर्नुका साथै उत्कृष्ट कर्मचारीहरूलाई आयोगका अध्यक्ष पौडेलले पुरस्कृत समेत गर्नुभएको थियो ।

कार्यक्रममा आयोगका सचिव भरतमणि सुवेदीले वित्तीय सङ्घीयतामा आयोगको भूमिका विषयक प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button