तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीबाट २०२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन 

रुपन्देही । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रुपन्देहीबाट २०२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । 

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच प्रतिनिधिसभा र १० प्रदेशसभा गरी १५ पदका लागि २०२ जना मैदानमा जाने निश्चित भएको छ ।

प्रतिनिधिसभाका लागि विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी ८८ जना र ११४ जनाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । 

बुधबार रुपन्देहीस्थित पाँच वटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

जिल्लाबाट कुल २१४ जनाले उम्मेदवारी दर्ता गराएकोमा नौ जनाले उम्मेदवारी फिर्ता लिएको र तीन जनाको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताउनुभयो । 

उम्मेदवारी खारेज हुनेमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–२ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिनुभएका कमल भुसाल ‘निकोलस’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल हुनुहुन्छ। तीन जनाविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानविन गरी उम्मेदवारी खारेज गरिएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका गुरुङ एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष हुनुहुन्छ । अदालतले बैङ्किङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको छ । 

त्यस्तै, भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्सा शास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेकाले र स्वतन्त्रबाट उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।  

नौ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ। निर्वाचन कार्य तालिकाअनुसार बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय रहेको सो अवधिमा रुपन्देहीबाट चार जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र पाँच जना प्रदेशसभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको हो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button