सरकारी कार्यालयमा अनुगमन २७ कर्मचारी अनुपस्थित
पाल्पा । पाल्पाका सरकारी कार्यालयमा अनुगमन गरिएको छ । कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले बुधबार कार्यालय अनुगमन गरेको हो । अनुगमनको क्रममा ८ वटा कार्यालयका २७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
अनुगमनका क्रममा सुन्तला जात फलफूल विकास केन्द्रमा ६ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । यहाँका कर्मचारी कार्यालय पोशाकमा समेत नरहेको पाइयो । सो कार्यालयको वेवसाइड समेत राखिएको छैन ।
सडक पूर्वाधार विकास कार्यालयका २ जना कर्मचारी अनुपस्थित रहेका थिए । यहाँ उपस्थित भएका कर्मचारीलेसमेत नियमित रुपमा हाजिर नगरेको भेटिएको छ । यस्तै मालपोत कार्यालयमा एक जना नासु अनुपस्थित रहेको पाइएको छ । अनुगमनका क्रममा कालिगण्डकी करिडोर परियोजना कार्यालयमा ७ जना, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा ५ जना, यातायात व्यवस्था सेवा कार्यालयमा २ जना, सडक डिभिजन कार्यालयमा २ जना र शहरी विकास तथा भवन कार्यालयमा २ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । अनुपस्थित हुने अधिकासं कर्मचारीमा प्राविधिक अधिकृत, सुब्बा, खरिदार,श्रेणीविहीन र लेखापाल रहेका छन् ।
कार्यालयमा उपस्थित नभएर नागरिकको सेवा प्रवाह प्रभावित पार्ने जोकोही कर्मचारीमाथि पहिलो चरणमा स्पष्टीकरण सोधिने सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो । अनुगमनमा पुगेको टोलीले कर्मचारी हाजिरीलाई व्यवस्थित बनाउनुपर्ने, वेवसाइडहरु अपडेट गर्नुपर्ने, मासिक रुपमा बैठक राख्नुपर्ने, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, प्रशासकीय अधिकृत यज्ञेश्वर पन्थीको नेतृत्वमा पत्रकार सहितको टोलीले कार्यालय अनुगमन गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्