तपाईँ सुन्दै हुनुहुन्छः

महिला क्रिकेट: पुलिस क्लबको दोस्रो जित

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनले पराजित गरेको हो ।

पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर ४० मात्र जोड्न सक्यो । त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । प्रदेश १ का लागि निशा शाहले १ विकेट लिइन् ।

जितसँगै पुलिस ४ अङ्क जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा कायमै रहेको छ । प्रदेश एक २ खेलमा १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ ।

खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि १०४ रनको अन्तरको विशाल जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा छ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

१२९ रनको लक्ष्य पछ्याएको कर्णालीले ८.३ ओभरमा सबै विकेट गुमाउँदै २३ रनमा समेटियो । यसअघि लुम्बिनी र प्रदेश एकबिचको खेल वर्षाका कारण रद्द भएको थियो । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button