रूपन्देही–२ का तीन उम्मेदवारको उम्मेदवारी खारेज

रूपन्देही । रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनकोतर्फबाट साझा उम्मेदवारी दिनुभएका नेकपा एसका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसाल निकोलस र स्वतन्त्र उम्मेदार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ ।
उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार राती निर्वाचन अधिकृतको कार्यालयले उहाँहरुको उम्मेदवारी खारेज गरेको हो । तीनै जनाको उम्मेदवारी खारेज भएसँगै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलका मुख्य प्रतिस्पर्धी कम भएका छन् ।
हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिनुभएका भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रबृत्तिमा अध्यनरत हुनुभएकाले उहाँकाे उम्मदेवारी खारेज गरिएकाे हाे ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका गुरुङ नेकपा एकीकृत समाजवादी, रूपन्देहीका अध्यक्ष हुनुहुन्छ। बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।
त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका हिमाल बस्यालको पनि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ‘ङ’ बमोजिम उम्मेदवार बन्न पाउने योग्यता नपुगेकाे आयोगले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार राती एक सूचना प्रकाशित गरी गुरुङ, बस्याल र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्