विराटनगरबाटै सवारी चालक अनुमत पत्र पाउन थालेपछि सेवाग्राही उत्साहित

विराटनगर । विराटनगरबाटै सवारी चालक अनुमति पत्र पाउन थालेपछि यहाँका सेवाग्राहीलाई सहज भएको छ । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले सवारी चालक अनुमति पत्र दिन थालेपछि सेवाग्राहीहरूलाई सेवा पाउन सहज भएको हो ।
विराटनगर प्रदेश–१ को राजधानी भएपनि सवारी चालक अनुमत पत्र बनाउने कार्यालय नहुँदा मोरङ जिल्लाका सर्वसाधारणलाई लाइसेन्स बनाउन सुनसरीको इटहरी तथा झापाको विर्तामोड जानुपर्ने बाध्यता थियो ।
विराटनगर–४ खार्जीमा रहेको यातायात व्यवस्था कार्यालयले साउन १५ गतेबाट कार , मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्र्याक्टर लगायतका सवारी साधनहरूको लिखित तथा ट्रायल परीक्षा लिएर सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको छ ।
इटहरी र बिर्तामोडमा मात्र दिँदै आएको सवारी चालक अनुमति पत्र विराटनगरबाटै बनाउन पाइने भएपछि मोरङ जिल्लाका साथै अन्य जिल्लाका सेवाग्राहीहरू लाइसेन्स बनाउन विराटनगर आउन थालेका छन् ।
विराटनगर स्थित यातायात सेवा कार्यालयबाट छिटो छरितो एवं सहज रुपमा सेवा पाउन थालेपछि लाइसेन्स बनाउने सेवाग्राहीको चाप कार्यालयमा उल्लेखनीय रुपमा बढेको छ ।
कार्यालय प्रमुख अनमोलमणी भट्टराईले जनशक्ति कम भएपनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको बताउनुभयो । कार्यालयमा रहेका ८ जना कर्मचारीले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म खटेर जतिसक्दो चाँडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।

विराटनगरबाटै सवारी चालक अनुमत पत्र वितरण हुन थालेपछि समय पनि कम लाग्ने र समयमा सबै काम हुने गरेको विराटनगर–८ का सेवाग्राही अजयकुमार सिंहले बताउनुभयो ।घरदैलोमा सेवा पाउनु सबैका लागी खुसीको कुरा भएको उहाँको भनाई छ ।
त्यस्तै झापा गौरा दहका सेवाग्राही भिमप्रसाद राजवंशीले पनि कार्यालयबाट प्रदान हुने सेवा सहज र छिटो छरितो हुने गरेको बताउनुभयो । कार्यालयमा सेवा छिटो छरितो हुने र सबै प्रक्रिया पुरा गर्दा चाडै लाइसेन्स पाइने कुरा सुनेर झापाबाट लाइसेन्स बनाउन विराटनगर आएको उहाँको भनाई छ ।
कार्यालयले सेवा सुरु गरेको दुई महिनाको अवधिमा विभिन्न सवारी साधनका करिब १७ सयभन्दा बढी सवारी चालक अनुमत पत्र वितरण गरि सकेको छ । चालक अनुमत पत्र बनाउनका अहिलेसम्म ७ हजार ५ सय बढिले आवेदन दिएका छन् ।
कार्यालयबाट दैनिक चारदेखि पाँच सय जनाले सेवा लिइरहेका छन् । यसैगरी सो कार्यालयले बस, ट्रक लगायत ठुला सवारी साधनहरूका लागी पनि चालक अनुमत पत्र दिने गरि व्यवस्था मिलाउन लागेको कार्यालय प्रमुख भट्टराईको भनाई छ ।
ठुला सवारी साधनको ट्रायल परीक्षाका लागी जग्गा खोज्ने काम भइरहेको र जग्गा प्राप्त भएपछि सबै प्रकारका सवारी साधनको लाइसेन्स कार्यालयबाटै वितरण हुने उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्