उपराष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण
भक्तपुर । विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा जानुभई भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्दै आए पनि राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी भएर अस्पताल भर्ना भएपछि उहाँको अनुपस्थितिमा उपराष्ट्रपति पुन आज नवदुर्गा भवानीको मन्दिरमा सरिक हुनुभएको हो ।
उपराष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारीले नवदुर्गा भवानीको मन्दिरमा स्वागत गर्दै सङ्कल्प पूजा गरी नवदुर्गाको पूजा एवं टीका प्रसाद प्रदान गर्नुभयो ।
त्यस क्रममा उपराष्ट्रपतिले नवदुर्गा देवगणका मूर्तिहरू अवलोकन गरी दर्शन गर्नुभएको थियो । उपराष्ट्रपति पुनलाई नवदुर्गा देवगणका मूल पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।
त्यस क्रममा नवदुर्गा जात्रा व्यवस्थापन समितिका निवर्तमान सचिव एवं नवदुर्गा पूजा व्यवस्थापक रत्नमान वनमालाले उपराष्ट्रपति पुनलाई देवगणको समस्या र नवदुर्गाको मुकुट एवं मुकुन्डो निर्माणमा आएको समस्याबारे अवगत गराउनुभएको थियो ।
उपराष्ट्रपति पुनलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको फूल तथा प्रसाद प्रदान गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्