तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका मुख्य राजमार्गहरू अवरुद्ध

सुर्खेत । बुधबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । 

प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ । 

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका–८ बादुका, दुल्लु नगरपालिका–२ को बरबारेभिर, कालिकोटको तिलागुफा नगरपालिका–१ को गाडगोडेनी र बालुवा, वडा नं ३ को राँचुली, वडा नं ५ को धनडाँ, खाँडचक्र नगरपालिका वडा नं १ को सुनारखोला, वडा नं २ को ज्यानमाराभिर र वडा नं ३ को खरिखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

त्यस्तै छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट–९ को पोखरे, सुर्खेतकै सिम्ता गाउँपालिका–४ को बालिखोला र जाजरकोटको भेरी नगरपालिका–१० को कालाभुरमा पहिरोले सडक अवरुद्ध भएको छ । 

रातानाङ्ला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर–१३ को राउते गल्छी, सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत गुराँस गाउँपालिकाको रातिखोला र चोचेखोलामा पनि सडक अवरुद्ध छ ।

यसैगरी बोटेचौर–दाङ सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका–१ को काल्चे, बोटेचौर सल्यान सडक खण्डको गुर्भाकोट–३ को भुजेल र राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ को खारानेटामा पनि सडक अवरुद्ध भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

“अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय र जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । यद्यपि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ”, उहाँले भन्नुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button