तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार हुन तोकिएको योग्यता अनिवार्य: आयोग

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार हुन आयोगले तोकेको योग्यता अनिवार्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ ।

file photo

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा उम्मेदवार हुन नेपालको नागरिक हुनुपर्ने, २५ वर्ष उमेर पुरा भएको, कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बाल नरहेको हुनुपर्ने जनाएको छ ।

यसै गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, प्रचलित कानुनबमोजिम कालो सूचीमा रहेका, कैदमा बसेकोमा कैद बसेको अवधिभर, विदेशी मुलुकको स्थायी आवासीय अनुमतिप्राप्त गरेको र मानसिक सन्तुलन ठिक नभएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुने आयोगले जनाएको छ ।

मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजुरी दिन सकिने व्यवस्था छ ।

प्रत्यक्षतर्फ यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button