तपाईँ सुन्दै हुनुहुन्छः

बडादसैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

File Photo

काठमाडौँ I नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भेटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्ध नगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन नकुहिने फोहरलाई व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

महाअभियानमा वाग्मती किनार सडकको दुवैतर्फ घरदैलो कार्यक्रमसमेत आयोजना गरिएको थियो । सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख सुभाष बस्नेत, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समितिका पदाधिकारी, काठमाडौँ महानगरपालिका वातावरण विभागका पदाधिकारी, स्थानीयवासी एव वाग्मती अभियानकर्मीको सहभागिता थियो ।  

सफाइका क्रममा वाग्मती अभियानकर्मी चक्रबहादुर चन्दको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षारोपण पनि गरिएको थियो । महाअभियानले अर्को शनिबार बुद्धनगर पुलभन्दा पश्चिम झोलुङ्गे पुलअघि संयुक्त राष्ट्रसङ्घीय उद्यानसँगको भागमा सफाइ गर्ने भएको छ । अर्को शनिबार पनि बडादसैँ नै भए पनि सफाइ अभियान जारी रहने जनाइएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ ।  जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा  पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकाको  वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु गरिएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौभन्दा बढी स्थानमा सफाइ भइरहेको छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button