तपाईँ सुन्दै हुनुहुन्छः

खसी भनेर बाख्राको मासु बिक्री

file photo

विराटनगर I खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९टोल फ्रि नम्बर०मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो ।

हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने बाख्राको मासु पनि खसीको मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।

विराटनगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जफत गरे तत्कालै नष्ट गरेको थियो । त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्मले पाँच महिनादेखि डिप फ्रिजमा राखेको माछा गन्हाएको अवस्थामा फेला परेको छ । पसलका कर्मचारीले समेत पाँच महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

यस्तै, महानगरले पुरानो गुद्रीमा अनुगमनका क्रममा पुग्दा अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश व्यापारी पसल बन्द गरेर भागेका थिए । सोही टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायत स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलका फ्रिजभित्र गन्हाएको मासु फेला परेको थियो ।

टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि ९हट लाइन०मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका प्रमुख कोइरालाले बताउनुभयो । उहाँले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिनुभयो ।

“हट लाइनमा धेरै नै गुनासो आएपछि म आफैँ अनुगमन निस्किएको हुँ, उपभोक्ताले गुनासो गरेजस्तै नै रहेछ अवस्था”, उहाँले भन्नुभयो, “एक पटकलाई हामीले सचेत गराएर छाडेका छौँ, केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौँ । फेरि पनि त्यस्तै भेटिए पसल नै शिल गर्छौँ ।” 

केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रङसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । प्रमुख कोइरालाले अब फेरि रङ दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिनुभयो । 

व्यापारी एक पटकलाई माफी दिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने  प्रतिबद्धता जनाएका थिए । टोलीले दर्ता, नवीकरणलगायत कागजपत्रसमेत जाँच गरेको थियो । अनुगमन टोलीमा आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, महानगरका निरीक्षक अधिकृत हरिप्रसाद गुरागाईँ, नगर प्रहरीका प्रमुख राजन पौडेल, खाद्य प्राविधिक धिरज राईलगायत सहभागी भएका थिए । स्थानीय उपभोक्ता राजेश सिंह डङ्गोलले भन्नुभयो, “यो कस्तो परम्परा हो पैसा तिरे पनि शुद्ध खान नपाउने, व्यापारीले पैसा कमाउने लोभमा उपभोक्तालाई ठग्नु भएन ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button