तपाईँ सुन्दै हुनुहुन्छः

देशभर चाडपर्व लक्षित ४५ सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशभरका ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

यस्तै, दशैंलाई लक्षित गरी कम्पनीले काठमाडौँका लागि १ हजार ८ सय खसीबोका र करिब पाँच सय च्याङ्ग्रा खरिद गरी बिक्री गर्ने लक्ष्य राखेको छ ।

file photo

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विगतका वर्षहरुमा जस्तै नेपालीहरूको महान् चाड दशैंलाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मुलुकभरका अन्य जिल्लामा गरी ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सुपथ मूल्य पसलमा उपलब्ध हुने खाद्य वस्तुमा बाहिर बजारमा भन्दा प्रति क्विन्टल सात सय रुपैयाँ कम, कर्णालीको सिमी, गेडागुडी र खसी बोकाहरूमा प्रतिकिलो १० रुपैयाँ कम मूल्यमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

file photo

दशैंका लागि खसीबोका पूर्ण व्यवस्थापन गर्न नसके पनि बजार भाउलाई स्थिर राख्न विभिन्न जिल्लाहरूबाट १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने कार्य भइरहेको र बुधबारदेखि नै बिक्री पनि सुरु गरिसकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिनुभयो ।

काठमाडौँ ल्याइएका जिउँदा खसीबोका छ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ प्रतिकिलोको दरले बिक्री भइरहेको छ भने विगतको तुलनामा प्रतिकिलोमा ५० देखि एक सय रुपैयाँ वृद्धि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

file photo

जिल्लामा खसीबोका र च्याङ्ग्राको खरिद गर्ने स्थानमा सम्बन्धित भेटेरेनरी डाक्टरले स्वास्थ्य परिक्षण गरेर मात्रै पठाउने र यहाँ ल्याएपछि पनि परिक्षण गरेर मात्रै विक्री गरिने हुँदा ढुक्क हुन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले उपभोक्तालाई आग्रह गर्नुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गत सञ्चालनमा आएका सुपथ मूल्य पसलका साथै खसीबोका तथा च्याङ्ग्रा किन्न उपभोक्ताहरूको भिड देखिन्छ ।

सुपथ मूल्य पसलहरूबाट बाहिरभन्दा कम मूल्यमा गुणस्तरीय सामान बिक्री भइरहेकाले पनि कसैले भ्रम सिर्जना गर्नका लागि मिति गुज्रिन लागेका सामानहरू बिक्री गरेको भन्ने कुरा बजारमा आए पनि त्यसको पछि नलागी निर्धक्क सामान प्रयोग गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आग्रह गरेको छ ।

तिहार र छठलाई समेत मध्यनजर गरी ती पसलहरू कार्तिक १५ गतेसम्म सञ्चालनमा रहनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button