त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा आग्रह गरिएको प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।
यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने समेत प्राधिकरणले चेतावनी दिएको छ ।
दसैँ नजिकिएसँगै अहिले विमानस्थल लगायत काठमाडौँका विभिन्न स्थानमा चङ्गा उडाउने कार्य तीव्र रुपमा चलिरहेको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्