विदेशी पाहुना पाउनै मुस्किल: तीन उडानमा आठ पर्यटक
काठमाडौँ । “दस जना विदेशी पर्यटकको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा जहाज कुर्नुपर्यो, मुस्किलले आठ विदेशीलाई स्वागत गर्न पाइयो”, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा विश्व पर्यटन दिवसको औपचारिक कार्यक्रममा टानका अध्यक्ष बास्तोलाले दिएको यो अभिव्यक्तिले पर्यटन व्यवसायीलाई झस्कायो । दिवसका अवसरमा विमानस्थलमा आउने पहिलो विदेशी पाहुनालाई स्वागत गर्न बास्तोलासहित पर्यटन व्यवसायीहरू गएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, मन्त्रालयका अन्य उच्च अधिकारी, पर्यटन विभाग र बोर्डका कर्मचारी एवम् पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा टानका अध्यक्षको भनाइले उपस्थित सबैलाई सोचमग्न बनायो । सबैको नजर बास्तोलातिर मोडियो । मुख्य पर्यटकीय सिजनमा विदेशी पर्यटक आगमनको सुस्तताले पर्यटन क्षेत्रमा अझै सकस कायमै छ भन्ने छनक दिएको छ ।
बिहान सबेरै विमानस्थल पुगेको व्यवसायीको टोलीले करिब चार घण्टा विमानस्थलमा पाहुना कुर्नुपरेको थियो । तीन उडानबाट क्यानडा, स्विट्जरल्यान्ड र साउदी अरेबियाका नागरिक आएको अध्यक्ष बास्तोलाले बताउनुभयो । टानको अगुवाइमा बिहान विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो ।

पर्यटन व्यवसायीसमेत रहेका बास्तोलाले मुख्य सिजनमै विदेशी पर्यटक कम आउनु गम्भीर विषय भएको बताउनुभयो । विमानस्थलमा व्यवसायीले झेलेका समस्या सुनाउँदै बास्तोलाले पर्यटन सूचना केन्द्र र पर्यटक सेवा काउन्टर बसेका भवनमा अहिले कुनै निजी व्यापारीले व्यापार गरिरहेको गुनासो गर्नुभयो ।
विमानस्थलको आगमन कक्षमा बनाइएको भवनमा पर्यटक सूचना केन्द्रसमेत हटाउन लागिएकामा व्यवसायीको विरोध छ । बास्तोलाले भन्नुभयो, “विमानस्थलको सेवा व्यवसायी र पर्यटनमैत्री हुनुपर्छ, दिवसका दिन खादा र माला पहिर्याएर मात्र पर्यटन क्षेत्रले गति लिन सक्दैन अर्को वर्षका लागि नीतिगत र कार्ययोजनाका साथ अघि बढ्दा मात्रै दिवस मनाउनुको सान्दर्भिकता बढ्छ ।”
यो सिजनमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउँछन् । सफा मौसम, दसैँ, तिहार, छठलगायतका महत्त्वपूर्ण चाडपर्व पर्ने भएकाले विदेशीका साथै गैरआवासीय नेपाली पनि उत्तिकै आउँछन् । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि यो उपयुक्त सिजन पनि हो ।
मुख्य याममा पनि विदेशी पर्यटक किन आएनन् भन्ने जिज्ञासामा होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तुलनात्मक रुपमा विदेशी पर्यटक आगमन झिनो रहेको तर, पर्यटकीय सिजन भर्खरै सुरु भएको र मनसुन पनि सकिन लागेकाले पदयात्रा र पर्वतारोहणका लागि विदेशी आउने सम्भावना रहेको बताउनुभयो ।
‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाइरहँदा कोभिडपछिको पर्यटनलाई कसरी चलायमान बनाउने भन्नेतर्फ सरकारी निकाय र निजी क्षेत्रका व्यवसायीलाई सोचमग्न तुल्याएको छ । पर्यटनको विद्यमान परम्परागत ढाँचालाई बदलेर नवीनतम् सोच र नयाँ तौरतरिकाले पर्यटनको बजारीकरण र प्रवर्द्धन गरिनुपर्ने उनीहरूको जोड छ ।
पर्यटन मन्त्रालयका सचिव अधिकारीले कोभिडपछि खस्किएको पर्यटनलाई चाँडो पुनरुत्थानका लागि पर्यटनलाई नयाँ सोच र बजार रणनीति परिवर्तन गरेर जानुको विकल्प नरहेको बताउनुभयो । सचिव अधिकारीले विमानस्थलमा व्यवसायीले भोगेका समस्या समाधानतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । व्यवसायीलाई परेका समस्याको छलफल र समाधान गर्न मन्त्रालय सदैव तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रवर्द्धनमा नयाँ तौरतरिका अनिवार्य
पर्यटन सचिव अधिकारीले परम्परागत ढङ्गको पर्यटन प्रवर्द्धनमा अब नयाँपन अवलम्बन गर्न जरुरी रहेको भन्दै सरकारले हालै घोषणा गरेको नेपाल भ्रमण दशक (सन् २०२३ देखि ३२) लाई सफल बनाउन सरकार र निजी क्षेत्र एकापसमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रमण दशकको छिट्टै कार्ययोजना सार्वजनिक गरिने पनि जानकारी दिनुभयो ।
“नेपालको पर्यटन भनेको हिमाल, पदयात्रा, सम्पदा, अनि गन्तव्य भनेको काठमाडौँ, पोखरा र लुम्बिनी मात्रै हैन यहाँका सम्भावना भएका पर्यटकीय वस्तुको पहिचान र प्रवर्द्धन गरेर पर्यटन प्रवर्द्धनको तौरतरिका बदल्न जरुरी छ”, पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले भन्नुभयो ।
कोभिडपछिको पर्यटनलाई नयाँपन दिएर चलायमान बनाउन दिवसको नाराले सबैमा नयाँ सोच दिन प्रेरित गर्ने बताउनुभयो । सोही अनुरुप बोर्डले अन्तर्राष्ट्रिय बजारीकरण नयाँ ढङ्गले अघि बढाउने नीति लिएको उहाँले जानकारी दिनुभयो ।
टानका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको नयाँ ढङ्गले बजारीकरण र प्रवर्द्धन गर्न नीतिगत सुधारका साथै सेवामा विविधीकरण र सुदृढीकरण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन पूर्वाधारमा पनि रिथिङ्किङ गर्न जरुरी भएको बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्यटन क्षेत्रमा साँच्चिकै नयाँ तरिकाले सोच्नुपर्ने अवस्था आएको औँल्याउनुभयो । विगतबाट शिक्षा लिएर अब कसरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने भन्नेतर्फ सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो । अध्यक्ष शेर्पाले नीतिगत सुधार, व्यवस्थापन र सेवा गुणस्तर आदिको समीक्षा गरेर पर्यटन विकासमा जुट्नुपर्ने उहाँको सुझाव छ ।

त्रिचालिस औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । दिवसका अवसरमा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्