तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु हिमपहिराे अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिराेमा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । 

हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठ जनाको आज उद्धार गरिएको हो । सकुशल उद्धार गरिएकाहरूमा सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा, २९ वर्षीय फुर्ते शेर्पा, सङ्खुवासभा घर भएका २७ वर्षीय सुकमान तामाङ, निमा शेर्पा, ४० वर्षीय निमादोर्जे शेर्पा र २५ वर्षीय दावा शेर्पा रहनुभएको उहाँले बताउनुभयो ।

त्यस्तै दोलखा घर भएका ४० वर्षीया फुरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङ र ४४ वर्षीय जीतबहादुर शेर्पाको पनि सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो । आज उद्धार गरिएकामध्ये ४० वर्षीय निमादोर्जे शेर्पाको अवस्था भने गम्भीर रहेको उहाँले बताउनुभयो । घाइते सबैलाई उद्धारपछि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाई सकिएको प्रहरी नायब उपरीक्षक लामिछानेको भनाइ छ ।

हिमपहिराेमा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरू आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो । उहाँले पहिरामा परी ज्यान गुमाएका सङ्खुवासभा जिल्ला घर भएका अनुप राईको शव निकाल्न भने कठिनाइ भइरहेको बताउनुभयो । 

“त्यस क्षेत्रमा आज पनि पुनः मौसम पनि बिग्रन थाल्यो”, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, “शव केही तल खोँचमा रहेकाले निकाल्न कठिनाइ भइरहेको छ ।” आज नै शव निकाल्न सक्ने अवस्था नरहेकाले भोलि मात्र राईको शव निकाल्न आधार शिविरमा हेलिकप्टर पुग्ने उहाँले बताउनुभयो ।

विभिन्न चार एजेन्सीबाट गएका उनीहरू सोमबार हिमपहिराेमा परेका थिए । प्रहरीका अनुसार इमेजिङ एक्सप्रेसनबाट गएका पाँच, सेभेन समिटका गएका तीन,  एचके एक्सप्रेसनबाट गएका दुई र चितवन एड्भेन्चरबाट गएका तीनजना हिमपहिराेमा परेका हुन् । रासस  

प्रतिक्रिया राख्नुहोस्

Back to top button