राष्ट्रपतिद्वारा बालबालिकासम्बन्धी पुस्तिकाको लोकार्पण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकासम्बन्धी एक पुस्तिकाको लोकार्पण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबिच राष्ट्रपति भण्डारीले बालबालिका प्रतिनिधि मेलिना गन्धर्वका साथमा ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ अवधारणा पुस्तिकाको लोकार्पण गर्नुभएको हो ।

सो अवसरमा बाल अधिकारकर्मी गौरी प्रधानले बाल अधिकारको विषय अहिलेको समयमा गाउँ गाउँ, टोल टोलसम्म पुगिसकेको भएपनि बालश्रम र बालविवाह जस्ता कुरीतिहरू अझै पनि विद्यमान रहेकाले त्यसलाई निरुपण गर्न स्थानीय सरकारलाई बढी सबलीकरण गर्नुपर्ने बताउनुभयो ।

बाल अधिकारकर्मी प्रधानले बालबालिकाको मस्तिष्कको विकास सुरुका केही वर्षमा भइसक्ने भएकोले सरकारले प्रारम्भिक बाल शिक्षामा विशेष लगानी बढाएर बाल विकासको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने पनि बताउनुभयो ।

अहिले देशभर करिब २५ हजार विद्यालयहरूमा बाल क्लबहरू सक्रिय रहेका र ती क्लबहरूले बाल अधिकारका कुराहरूलाई उठाउँदै आएका कार्यक्रममा जानकारी गराइएको थियो ।
सो कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा १५ वर्ष अघिसम्म ३४ प्रतिशत बालविवाह हुने गरेको थियो भने अहिलेको समयमा आएर केही घटे पनि अझै करिब १२ प्रतिशतको हाराहारीमा बालविवाह भइरहेको देखिएको छ ।
तस्वीरः सुनिल सी बज्राचार्य, राष्ट्रपतिको कार्यालय








प्रतिक्रिया राख्नुहोस्