तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष खुसी प्रकट गर्दै वडावासीले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउबाटै सेवा पाएपछि खुसीले गद्गद भएका छन् । उनीहरूको मुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।

८५ बर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताउनुभयो । उहाँले बैङ्कमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउनुभयो । ७५ बर्षीया सन्तोखिया काँदुले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरू जस्तो बृद्धबृद्धालाई निकै सहज भएको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालयमा पुग्नुभएका नगर प्रमुख विष्टले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई बैङ्कमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताउनुभयो । उहाँले आफूहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्क नेपालगञ्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानले वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिनुभयो । उहाँले अहिलेलाई नेपालगञ्जका १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button