वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनमा : श्रममन्त्री कुँवर

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट सञ्चालनमा ल्याइएको बताउनुभयो ।
आज सिंहदरबारस्थित आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री कुवरले आफूले गरेका कार्यहरू सार्वजनिकीकरण गर्नुहुँदै स्विस सरकारको सहयोगमा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूका लागि पुनः एकीकरण कार्यक्रम तिनै वटा तहबाट सञ्चालनमा रहेको बताउनुभयो ।
यस्तै मन्त्री कुँवरले दक्षिण कोरियाबाट फर्किएका नेपाली नागरिकहरूको पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन लगायतका कार्यक्रम पनि स्थानीय र प्रदेशबाट सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम (शीघ्र प्रत्युत्तर टोली) गठन गरिएको र भएका ठगी, अलपत्र वा सम्झौता विपरीतका कार्य सम्बन्धी पीडितलाई पीडक मार्फत ४८ करोड ४ लाख ८५ हजार क्षतिपूर्ति उपलब्ध गराइएको जानकारी दिनुभयो ।
यस्तै, सामाजिक सुरक्षा, व्यावसायिक सीप विकास तथा तालिम, सेवा प्रवाहमा सुधार लगायतका कार्यहरू भएका मन्त्री कुवरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्