तपाईँ सुन्दै हुनुहुन्छः

छैटौँ पैदल निशान यात्राको तयारी तीव्र 

विराटनगर । विगतका वर्षहरूका जस्तै यस वर्ष पनि पैदल निशान ध्वजा  यात्राको आयोजना हुने भएको छ  । 

विजया दशमीको महानवमीका दिन आयोजना हुने निशाना ध्वजा  यात्राको तयारी तीव्र रूपमा भइरहेको छ  ।

विराटनगरस्थित काली मन्दिरबाट प्रारम्भ हुने निशान यात्रामा भक्तजनहरू पैदल हिँडेर रंगेलीस्थित ऐतिहासिक काली मन्दिर पुग्ने गर्दछन् । 

काली माताका निशान ध्वजा बोकेर भक्तजन  २४ किलोमिटर पैदल यात्रा गर्दै रंगेलीको काली मन्दिरमा पुगेर माताको पूजाआजा गर्दै निशान ध्वजा चढाउने गर्दछन् ।

भक्तजनहरू पैदल हिँडेर शरीरलाई कष्ट दिँदै ध्वजा चढाउँदा मनोकामना पुरा हुने विश्वास रहेको छ । निशान यात्राभर भक्तजनहरूको उल्लेखनीय सहभागिता हुँदै आएको छ । यस वर्षको निशान यात्रामा तीन हजारभन्दा बढी निशान यात्रीको सहभागिता हुने जनाइएको छ । 

असोज–१८ गते मङ्गलवार महानवमी पर्वका दिन बिहान ५ बजे विराटनगरस्थित काली मन्दिरबाट निशान यात्रा शुभारम्भ हुने निशान यात्रा आयोजक समितिका संयोजक मनोज अग्रवालले बताउनुभयो । 

रङेली काली मन्दिरको आयोजनामा विगत पाँच वर्षदेखि निशान यात्रा हुँदै आएको छ ।  भक्तजनहरू उपवास बसेर निशान यात्रामा सहभागी हुँदै आएका छन् । मनोकामना पुरा हुने भएकाले कतिपय घरका सबै परिवार समेत यात्रामा सहभागी हुँदै आएका छन् ।

विराटनगरस्थित काली मन्दिरमा प्रदेश १ सामाजिक विकास मन्त्रीले विराटनगर महानगरपालिकाका  मेयरलाई निशान यात्राको ध्वजा दिएपछि यात्रा शुभारम्भ हुने जनाएको छ ।

निशान यात्रामा सहभागी भई विराटनगर महानगरपालिकाका मेयरले कटहरी गाउँपालिका अध्यक्षलाई तथा कटहरी गाउँपालिका अध्यक्षले धनपालथान गाउँपालिका अध्यक्षलाई यसैगरी धनपालथान गाउँपालिका अध्यक्षले रङेली नगरपालिकाका मेयरलाई ध्वजा हस्तान्तरण गर्ने र सो ध्वजा रंगेलीस्थित काली मन्दिरमा चढाउने गरी व्यवस्था मिलाएको संयोजक  अग्रवालले बताउनुभयो । 

रंगेलीस्थित सानसारी मन्दिर पुगेपछि ठुलो सङ्ख्यामा भक्तजन सहभागी भई रङेली नगरपालिकाको अगवाईमा  निशान यात्रीको टोली अपराह्न ३ः०० बजे काली मन्दिर पुग्ने गरी व्यवस्था मिलाइएको छ  । 

यात्रामा मोरङ, सुनसरी, झापालगायत विभिन्न जिल्लाका भक्तजन सहभागी हुनुका साथै भारतीय सीमावर्ती क्षेत्रका समेत भक्तजन सहभागी हुने गर्दछन् । 

निशान यात्रामा सहभागी हुने भक्तजनहरूलाई  छाला जुत्ता, चप्पल, बेल्टलगायत छालाका कुनै पनि सामानको प्रयोग गर्न निषेध गरिएको छ । 

आयोजक समितिले विराटनगर लगायत विभिन्न ठाउँबाट आएका निशान यात्रीलाई पुन आफ्नो घर फर्कनका लागि सवारी साधनको समेत व्यवस्था मिलाइएको छ । 

यात्रीहरूको सहयोगका लागि विराटनगरदेखि रंगेलीसम्म आठ  ठाउँमा विभिन्न सङ्घसंस्थाहरूले  शिविर आयोजना गर्न लागेको आयोजक समितिका सदस्य सुलभ अग्रवालले बताउनुभयो ।

मोरङ जिल्लाका पुरानो सदरमुकाम रङेली मन्दिरको सहर भएकाले विजया दशमीका अवसरमा आयोजना हुने काली मन्दिरको निशान यात्रा तथा  सानसारी मन्दिरमा हुने प्रदेशस्तरीय फूलपातीको बढाइँले यस क्षेत्रका धार्मिक विशेषता बोकेको छ  । 

निशान यात्राले विराटनगरको काली माताको मन्दिर, रंगेलीको प्राचिनकाली माताको मन्दिर तथा सानसारी माताको मन्दिरलाई जोडने काम गरेकाले पनि निशान यात्राको ठुलो धार्मिक महत्त्व रहँदै आएको आयोजक समितिका संयोजक मनोज अग्रवालको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button