कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव
दोधारा चाँदनी । कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताउनुभयो ।
उहाँले अस्पतालमा डेङ्गुका बिरामी बढेको बताउनुभयो । प्रदेश सरकारसँग किट माग गरे पनि ३०/४० वटा मात्रै पठाउने र त्यसले एक दिनसमेत नपुग्ने उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा एक सय १२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाकाली प्रादेशिक अस्पतालमा ४० र दोधारा चाँदनी नगरपालिकामा ३६ जनामा सङ्क्रमण देखिएको छ । पुनर्वास नगरपालिकामा १२, बेलडाँडीमा तीन, कृष्णपुर, बेलौरी र लालझाडीमा दुई/दुई र विभिन्न निजी प्रयोगशाला र अस्पतालमा १५ जनामा सङ्क्रमण देखिएको छ ।
दोधारा चाँदनी नगरपालिकामा सङ्क्रमित देखिएका ३६ जनामध्ये २२ जना भारतबाट र आठजना काठमाडौँबाट फर्केका रहेका छन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्