आफु चुनाव लड्न विचलित छैन : डा. रावल

अछाम । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. भीम रावलले आफु चुनाव लड्न तयार रहेको बताउनु भएको छ ।
कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित नभएको नेता रावलको भनाई छ । अछाम आउनुभएका नेता रावलले सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई प्रतिनिधि सभामा चुनाव लड्नका लागि एकल नाम सिफारिस गरे जसरी पार्टीले निर्णय गरे आफु चुनाव लड्न कत्ति पनि विचलित नभएको बताउनुभएको हो ।
उहाँले आफूले कहिल्यै पनि टिकटका लागि हारगुहार नगरेको र पार्टीले निर्णय गरे मुताविक नै चुनाव लड्दै आएको बताउनुभयो । रावलले पदको लागि पार्टी भित्र मरिहत्ते नगर्ने बताउनु भएको छ । चुनाव लड्ने आशामा आफु नेताका घरघरमा पुगेर म चुनाव लड्छु नभन्ने उहाँले बताउनु भयो । रावलले भन्नु भयो, “मैले चुनाव लड्ने निर्वाचन क्षेत्र अछाम क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरूले चुनाव लड्न आग्रह गरे आफ्ना कार्यकर्ताको मागको सम्बोधन गर्न पछि हट्ने कुरै छैन ।”

नेता रावल प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ता भेटघाटमा गृह जिल्ला पुग्नु भएको हो । २०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रावल फेरि पनि मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चामा हुनु हुन्छ । नेकपा एमालेले अछाम क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा सदस्य लड्न रावलको एकल नाम सिफारिस गरि सकेको छ ।
फरक प्रसङ्गमा बोल्दै उहाँले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितको लागि आफु निरन्तर लागि रहेको बताउनु भएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले पछिल्लो समय राष्ट्रियतामाथि गम्भीर प्रहार भइरहेको भन्दै यसका लागि सबै देशभक्त नेपालीहरूले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्