तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा अविरल बर्षाका कारण खेतमै कुहिन थाल्यो धानबाली 

डडेलधुरा । अविरल वर्षाले डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम र आलिताल गाउँपालिकामा पाक्न थालेको धानबाली खेतमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् । 

खेतबारीमै काटिएको धानबाली बर्षाका कारण भित्र्याउन नपाएपछि ठुलो नोक्सानी भएको हो । 

परशुराम नगरपालिकाको वडा नं.६ भोरकुण्डाका ४० परिवारको धानीबालीमा पानीले ठूलो क्षति पुर्‍याएपछि भोकमरीको समस्या आउन सक्ने स्थानीय भूपेन्द्र धामी बताउनुहुन्छ ।

वर्षभरी खानलाई पुग्ने धान पानीले गर्दा बारीमै कुहिन थालेपछि किसानहरू चिन्तित बनेका हुन । उनीहरूलाई वर्षभरी के खाने र बालबालिका कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको धामीको भनाई छ । 

सोही ठाउँकी स्थानीय द्रोपती बमले लगातारको वर्षाले काटेको धान बारीमै कुहिएको बताउनुभयो । 

“लगातारको पानीले काटेर धानबाली बारीमै कुहिएको छ । पानीले गर्दा लुट्याएर राखेको मकै पनि कुहियो” उहाँले भन्नुभयो, “पहिरोबाट जोगिएको धेरै जमिनमा लगाएको खेती पनि पानीले नष्ट गर्‍यो । अब भोकमरी हुने चिन्ता बढ्यो ।” उहाँले गुनासो गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button