‘अर्थतन्त्र सुधारका लागि कृषिको योगदान उल्लेखनीय’
जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताउनुभएको छ ।
गुठिचौर गाउँपालिका ५ स्थित जुम्लाकै ठुलो गुठिचौर एग्रोफर्मको उद्घाटन गर्न शनिवार जुम्ला पुग्नुभएका मन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।”
मन्त्री शर्माले कर्णाली कृषि, पर्यटन, जडीबुटीका हिसाबले प्रचुर सम्भावना युक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उल्लेख गर्नुभयो ।
जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुर्याउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने समेत अर्थमन्त्री शर्माले प्रतिबद्धता गर्नुभयो ।
कर्णालीको कृषिमा पर्याप्त लगानी भएमा कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने उहाँको भनाई छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सहज वातावरण बनाउन सरकार लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद गजेन्द्र बहादुर महतले गुठिचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धिको आधार रहेको बताउनुभयो । सयौँलाई रोजगारी सृजनादेखि कृषि क्रान्तिको सुरुवात भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताउनुभयो ।
२०७५ सालदेखि सुरुवात गरिएको गुठिचौर एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मिम बहादुर भण्डारीले बताउनुभयो । फर्ममा ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्